• Menu

बजेट र कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाउँदै सरकार, मन्त्रालयगत वार्षिक प्रगतिबारे छलफल

नेपाल प्रफिट

२०८१ साउन ३१, १३:४७

बजेट र कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाउँदै सरकार, मन्त्रालयगत वार्षिक प्रगतिबारे छलफल

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यन्वयनका साथै सरकारले १०० दिनभित्र गर्ने मुख्य-मुख्य कामबारे छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रह्यो ।

समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्य सचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ६३.४४ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको जानकारी गराए ।

किसानको मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ ।

बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तरनिकाय समन्वय अभाव, निर्माण सामग्रीको अर्पाप्यता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयार नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजना समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख छ ।

समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरुले चालु आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी छ ।

आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको छ । यसअघि प्रधानमन्त्री ओलीले साउन १५ गते प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।