काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथिको छलफलमा अध्यक्ष दाहालले अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अघि बढ्ने ढोका खुलेको बताए ।
‘शान्ति प्रक्रियासँग अभिन्न अंगका रुपमा सम्बन्धित सङ्क्रमणकालीन न्यायसम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाएको छ । इतिहासलाई न्याय र सहिदको सपनाको सम्मान गरेको छ,’ उनले भने ।
शान्तिप्रक्रियालाई आजका दिनसम्म ल्याइपुर्याउन थुप्रै पात्रले अथक भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रस्तुत विधेयक कार्यान्वयनको प्रक्रियामा समेत सबैको साझा प्रयास हुने विश्वास व्यक्त गरे ।
‘संविधान जारी हुँदासम्म जसरी हामीले राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकता प्रदर्शन गर्यौँ तर कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ,’ उनले भने, ‘संविधान जारी भएपछि हामीबीच उच्चस्तरको राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो हुन सकेन । विधेयक पारित भएसँगै शान्ति सम्झौताको मूल मर्म र भावनाअनुसार उपलब्धि प्राप्त हुनेछ ।’
नेपालमा शान्ति प्रक्रियाको आफ्नै ढाँचाको परिकल्पना गरिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसले बहुलवादको रक्षा, लोकतान्त्रिक प्रणाली स्थापित, परम्परागत संसदीय राजनीतिभन्दा सामाजिक न्याय तथा पूर्ण लोकतन्त्रको प्रवर्धनमार्फत सम्पूर्ण नेपाली जनतालाई शान्ति र सुशासनको प्रत्याभूति गराउने विश्वास व्यक्त गरे ।
शान्ति प्रक्रियाको एउटा मुख्य नेतृत्वकर्ताका हैसियतले आफ्ना सामु थप चुनौती थपिएको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला हामीबीच नरहे पनि अर्को हस्ताक्षरकर्ताका हैसियतले शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
शान्ति सम्झौता समावेशी, समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको सुरुवात विन्दु बन्न पुगेको उनको भनाइ छ । त्यस्तै विस्तृत शान्ति सम्झौताले वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावको अन्त्य गर्दै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय, पिछडिएका क्षेत्रलगायतका समस्या सम्बोधन गर्न सफल भएको अधयक्ष दाहालले बताए ।