• Menu

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १३:४२

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार भएको काठमाडौँ विश्वविद्यालयको ९७औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका हुन् ।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।

‘विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्ने उनले बताए । ‘यीलगायत नीतिगत विषयमा भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ,’ उनले भने ।

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा. भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्व उपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपति ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानेका हुन् ।

प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए । सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत चार अर्ब ३० करोड ९० लाख रुपैयाँ बजेट पारित भएको छ । यस्तै सभाले आगामी २९औँ दीक्षान्तका लागि विभिन्न संकायबाट दीक्षित हुने दुई हजार ३१४ विद्यार्थीको ग्रेसलिस्ट पारित गरेको छ ।