चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो । उनका अनुसार ६ वटा कम्पनीको बोलपत्र परेको छ ।
महानगरपालिकाले १० करोड ८३ लाख रुपैयाँबराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताइन् ।
‘महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दैछौँ,’ उनले भनिन् । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहनेछ ।
एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ । नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिनेछ । महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेर काम अघि बढाएको हो ।
बोलपत्रको टुंगो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ । ‘ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुग्नेछ,’ उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले महानगरले जडान गर्ने क्यामेराबाट शान्तिसुरक्षा र अमनचैनमा सहयोग पुग्ने बताए । शान्ति सुरक्षासँगै दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्नेछ । ‘कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामेरा निकै सहयोगी बन्नेछ,’ उनले भने ।