कास्की । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको छ ।
‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेस्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) सुरु हुन्छ,’ भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने ।
‘वेट टेस्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । परीक्षण उत्पादन बढीमा १५ दिनभित्र सुरु हुने पोखरेलले बताए । ‘त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ,’ उनले भने ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिनेछ । आयोजना नदी जलप्रवाहमा आधारित छ ।
कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकार लगायतबाट सहयोग मिलेको बताए । स्थानीयवासीको सानो-सानो लगानीले आयोजना निर्माण भएको उनको भनाइ छ ।
‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ,’ उनले भने ।
सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ । तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आईपीओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए ।
सेती नदी जलविद्युत आयोजना २०७७ को अन्तिमदेखि काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङको भनाइ छ ।