पर्वत । जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् ।
तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्मा बजारमा खपत हुने गरेको उनले बताइन् । ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनले भनिन्, ‘गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये दुई सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।’
कच्चा पदार्थसहितका सामग्री तयार गरेकी खत्रीले सात रोपनीमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनियाँलगायतका तरकारी पनि उत्पादन गर्दै आएकी छन् ।
‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु,’ खत्रीले भनिन् । उनले श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पुर्याउने गरेकी छन् ।
जलजलामा व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दो छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यका अनुसार त्यसमा गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ । च्याउखेतीमा अनुदान दिइरहेको गाउँपालिकाले किसानमा उत्साह देखेपछि अनुदन पनि बढाउने भएको छ ।