• Menu

सेयर बजार बढेका बेला अस्वाभाविक मूल्य उचालिएका कम्पनीमा फसिएला है !

नेपाल प्रफिट

२०८१ साउन १७, ११:२३

सेयर बजार बढेका बेला अस्वाभाविक मूल्य उचालिएका कम्पनीमा फसिएला है !
तस्बिर एआई ।

काठमाडौं । सेयर बजार ‘बुलिस ट्रेन्ड’मा रहेका बेला अनेक खाले हल्ला चल्छन्- बजार अब तत्काल छट्दैन । अब यति अंकमा पुग्छ । फलानो कम्पनीले यसरी लगानीकर्तालाई मालामाल बनाउँदैछ । यसको मूल्य यति पुग्छ अरे ! सबैले यही कम्पनी किनिरहेका छन् आदि इत्यादि ।

बजार बढ्न थालेपछि ब्रोकर कार्यालय भरिभराउ हुन्छन् । चिया पसलदेखि सार्वजनिक यातायात र पार्कहरुमा समेत सेयर बजारका चर्चा चुलिन्छन् । यही मौकामा धमिलो पानीमा माछा मार्नेहरुको सक्रियता बढ्छ ।

सुनियोजित ढंगले मूल्य बढाउने, घटाउने र अकुत लाभ लिने गिरोहहरु नै सक्रिय हुन्छन् । सेयर बजारको भाषामा सट्टेबाजी मौलाउँछ । यही समयमा हल्लाका पछि दौडिने र अध्ययन नगर्ने मानिसहरु फन्दामा पर्छन् । लोभ र ईर्ष्याका कारण पनि अधिकांश मानिस फस्छन् ।

एउटा भनाइ छ नि- अरुका कुरा सधैं सुन्नुपर्छ तर निर्णय आफूले लिनुपर्छ । यो भनाइ सेयर बजारमा पनि लागू हुन्छ । बजारका हल्ला सुन्नुपर्छ र हल्ला चलेका कम्पनीबारे अध्ययन गर्नुपर्छ र निर्णय लिनुपर्छ । सेयर बजार रातारात धनी हुने ठाउँ होइन ।

सेयर बजार बढेका बेला विभिन्न तरिकाले फसिन्छ । अप्रत्यासित ढंगले मूल्य बढाइएका कम्पनीमा लगानी गर्नु सधैं जोखिम हुन्छ ।

उदाहरणका लागि नेपाल फाइनान्सलाई हेरौं-

नेपाल फाइनान्सको सेयर मूल्य बुधबार १९५८ रुपैयाँ ९० पैसा छ । तर, यो कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ०.२४ रुपैयाँ छ । तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १३ लाख १८ हजार खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा छ भने निष्क्रिय कर्जा ९.२४ प्रतिशत छ ।

यसको अर्थ नेपाल फाइनान्सको एक कित्ता सेयरका लागि करिब २ हजार रुपैयाँ लगानी गर्नेले एक वर्षमा २४ पैसा कमाउँछ । जेठ २१ गते प्रतिकित्ता ५८२ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य दुई महिना नबित्दै २ हजार रुपैयाँनजिक पुगेको छ ।

दोस्रो बजारमा ८३ लाख ८९ हजार कित्ता सेयर सूचीकृत भएको यो कम्पनीको ४० प्रतिशत अर्थात् ३३ लाख ५५ हजार ७७५ कित्ता सेयरमात्रै सर्वसाधारण समूहको हो ।

कम्पनीले २०६७/६८ को नाफाबाट लगानीकर्तालाई २३.१६ प्रतिशत लाभांश बाडेको छ । त्यसयता हात खाली बनाउँदै आएको छ ।

त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ १ पैसा रहेको इमर्जिङ नेपालको सेयर मूल्य पनि प्रतिकित्ता १४ सय रुपैयाँ छ । यो कम्पनीको दोस्रो बजार सर्वसाधारण सेयर ५ लाख ५५ हजार ६०० कित्ता छ । दुई महिनामा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँबाट १४०० पुगेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको पनि प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६३ पैसा छ । यो कम्पनीको सेयर मूल्य बुधबार प्रतिकित्ता १३५४ रुपैयाँ पुग्यो । दोस्रो बजारमा कम्पनीको १२ लाख कित्ता सेयर सूचीकृत छ ।

त्यस्तै प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसा रहेको मुक्तिनाथ कृषि कम्पनीको पनि दोस्रो बजारमा बुधबार प्रतिकित्ता सेयर मूल्य १७३२ रुपैयाँ पुग्यो । कम्पनीको सर्वसाधारण सेयर संख्या १४ लाख कित्ता छ ।

त्यसैगरी वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको समाज लघुवित्तको सेयर मूल्य बुधबार प्रतिकित्ता २८८० रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा १०.५३ प्रतिशत छ भने दोस्रो बजारमा ९८ हजार २५५ कित्ता सेयर सूचीकृत छ ।

यी केही उदाहरण मात्र हुन् । कम्पनीका लगानीकर्ता (कम्तीमा सञ्चालक समिति सदस्य), कम्पनीको वित्तीय अवस्था, कम्पनीले विगतमा दिएको प्रतिफल, दोस्रो बजारमा भर्खर सूचीकृत भएको भए लगानीको क्षेत्रलगायतका सूचकले सेयर लगानीकर्ताका लागि ठूलो अर्थ राख्छ ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुपर्ने अवस्थाबाट बच्न कम्पनीका सामान्य सूचक हेर्न सिक्नुपर्छ । बजारमा भएको थोरै सेयर कर्नरिङ गरेर फाइदा लिने व्यक्ति वा समूहबाट बच्न सकिएन भने कमाउने त परको कुरा ठूलो मेहनत गरेर र वर्षौं लगाएर आम्दानी गरेको पैसा नै गुम्न सक्ने जोखिम रहन्छ ।

कम्पनीका सूचक अत्यन्तै कमजोर भएर पनि अप्रत्यासित ढंगले मूल्य उचालिनुको कारण बजारमा सेयर संख्या कम हुनु हो । सेयर संख्या कम भएकाले सीमित व्यक्ति या समूहले यस्ता कम्पनीको मूल्यलाई नियन्त्रणमा लिन्छन् र अस्वाभाविक चलखेल गर्छन् ।

हामी सेयर बजारमा कुन उद्देश्यले प्रवेश गर्न चाहन्छौं र आफूले लगानी गरेको कम्पनीले त्यो उद्देश्य पूरा गर्न सहयोग गर्छ कि गर्दैन, त्यसमा ध्यान दिनुपर्छ । तसर्थ, सेयर किन्नुअघि तथ्यांक हेरेर आफैं निर्णय लिनुपर्छ ।