म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ र वडा नम्बर-५ पाउद्वार तातोपानी जोड्ने झोलुंगे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।
दुईवटा तातोपानी कुण्ड रहेको पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेपछि नदी वरपार गर्न सहज भएको हो ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।
प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । ‘उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्यांकन र ठेक्का टुङ्ग्याउन बाँकी छ,’ उनले भने, ‘यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।’
पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताए ।
‘कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो,’ उनले भने, ‘बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुँदै ४० मिनेट घुमाउरो बाटो हिँड्नुपर्थ्यो ।’
कुल एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा १२–१२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । २०८० जेठमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो ।
नक्सांकनमा देखिएको समस्या र कुल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुंगे पुल निर्माण योजनाका लागि आव २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।
म्याग्दी १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताए ।
‘२०७६ सालमा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो,’ उनले भने, ‘२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।’
भुरुङ र पाउद्वार तातोपानी जोड्ने झोलुंगे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाइ लम्बाउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य भण्डारीले बताए ।