• Menu

अकासियो तरकारीको भाउ, कतिपय तरकारीको दोब्बर-तेब्बर मूल्यवृद्धि

नेपाल प्रफिट

२०८१ असार ३०, १०:४०

अकासियो तरकारीको भाउ, कतिपय तरकारीको दोब्बर-तेब्बर मूल्यवृद्धि

काठमाडौं । मौसम प्रतिकूलता र अधिक वर्षाका कारण देशभरबाट आपूर्ति प्रभावित भएपछि काठमाडौंमा तरकारीको भाउ अकासिएको छ । तरकारी खेती गर्ने किसानले पनि बर्खामा धान रोपाइँ गर्ने हुँदा एकातिर तरकारी उत्पादन घट्ने तथा यस वर्ष अधिक वर्षाका कारण पनि उत्पादन प्रभावित भएपछि मूल्य अकासिएको हो ।

आपूर्ति प्रभावित भएपछि कतिपय तरकारीको मूल्य १५ दिनमै दोब्बर-तेब्बरले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा, बोडी, सिमी, परवर, भिन्डीलगायतका तरकारी मूल्यमा उच्च वृद्धि भएको छ ।

सानो लोकल गोलभेँडाको मूल्य असार १५ गते प्रतिकिलो १९ रुपैयाँ २० पैसा रहेकोमा असार ३० गते १३४ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ । त्यस्तै बोडी ६० रुपैयाँबाट १०८ प्रतिशत बढेर १२५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

१५ दिनअघि प्रतिकिलो २८ रुपैयाँ रहेको परवर १६७ प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ भने हरियो फर्सी ११४ प्रतिशत बढेर ३५ बाट ७५ रुपैयाँ पुगेको छ । भिन्डी ४६ बाट ११०, रायोको साग ४६ बाट १२६ र जिरीको साग ८६ रुपैयाँ प्रतिकिलोबाट २७६ प्रतिशत बढेर ३२६ रुपैयाँ पुगेको समितिले जनाएको छ ।

हरियो धनियाँ पनि ९८ रुपैयाँ प्रतिकिलोबाट २२६ रुपैयाँ नाघेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बर्खा र अधिक वर्षाका कारण तरकारी मूल्य अकासिएको हो ।

तरकारी मूल्यमा गत वर्षको तुलनामा पनि उच्च वृद्धि भएको छ । गत वर्षको यही अवधिमा तरकारीको मूल्य निकै कम थियो । गत वर्ष असार ३० गते सानो लोकल गोलभेँडा २२ रुपैयाँ प्रतिकिलो थियो, जुन अहिले ४५ रुपैयाँ पुगेको छ ।

त्यस्तै अहिले १२५ रुपैयाँ पुगेको बोडी गत वर्ष असार ३० गते ६४ रुपैयाँ, अहिले ७५ रुपैयाँ रहेको परवर गत वर्ष ३८ रुपैयाँ, अहिले ११० पुगेको भिन्डी गत वर्ष ७६ रुपैयाँ, अहिले १२६ रहेको रायोको साग गत वर्ष असार ३० गते ९६ रुपैयाँ, अहिले ३२६ रुपैयाँ पुगेको जिरीको साग गत वर्ष ५६ रुपैयाँ र गत वर्ष प्रतिकिलो २१० रुपैयाँ रहेको हरियो धनियाँ यो वर्ष २२६ रुपैयाँ प्रतिकिलो रहेको समितिको तथ्यांकले देखाउँछ ।