काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार जेठ २८ देखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।
उक्त समयमा बाढीपहिरोका कारण ३८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा र पहिरोका कारण ८५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म ५ हजार ४२८ प्रहरी परिचालन गरिएको छ ।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, १६१ घर डुबानमा परेको र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देशभर दुई हजार ९५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँबराबरको क्षति पुगेको जनाइएको छ ।