• Menu

चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन, पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा एक अर्ब लगानी

नेपाल प्रफिट

२०८१ असार २४, ०९:१०

चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन, पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा एक अर्ब लगानी

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहन अनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा रिसोर्ट सञ्चालनमा आएको हो ।

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्छन् । ‘लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो,’ उनले भने ।

रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’ जडान गरिएको छ । ‘रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिले उत्कृष्ट बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।’

उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन् । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले सम्हालेका छन् ।

‘यो रिसोर्टलाई विश्वकै नमुना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौँ । संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ । यहाँभित्र पोलिक्लिनिकसमेत छ । विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ,’ उनले भने ।

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्विमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउनेछन् ।

यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । ‘चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म ५० करोडभन्दा बढी लगानी भइसकेको छ । आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालनमा आउँदै गर्दा लगानी एक अर्बमाथि नै पुग्नेछ,’ उनले भने ।

यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका हुन् ।