काठमाडौं । पर्यटक आगमन विगतका वर्षहरुको तुलनामा बढेको छ । विश्वव्यापी कोभिड १९ महामारीका कारण सन् २०१९ देखि प्रभावित भएको पर्यटक आगमनमा बल्ल सुधार आएको हो ।
सन् २०१९ पछि २०२३ सम्म नै पर्यटक आगमन पहिलाको अवस्थामा फर्किन सकेको थिएन । सन् २०१९ मार्चमा १ लाख २७ हजार ३५१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्षको मार्चमा १ लाख २८ हजार १६७ जनाले नेपाल भ्रमण गरेका छन् ।
त्यस्तै सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसयता पहिलो पटक यो वर्ष अप्रिलमा १ लाख ११ हजार ३७६ जनाले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ जनाले नेपाल भ्रमण गरेकोमा यो वर्ष मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन महिनामा पनि पर्यटक आगमन सन् २०१९ को भन्दा बढेको छ ।
जुन महिनामा सन् २०१९ मा ७४ हजार ८८३ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष जुनमा ७६ हजार ७३६ पर्यटक भित्रिएका हुन् । सन् २०२४ को मार्चदेखि जुनसम्मको ४ महिनामा ४ लाख ६ हजार ४९० पर्यटकले नेपाल भ्रमण गरेका छन् । जबकि, सन् २०१९ को सोही अवधिमा ३ लाख ८९ हजार ९६२ पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१४ को जनवरीदेखि जुनसम्मको ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले सन् २०२४ मा पर्यटक आगमन १६ लाख पुर्याउने लक्ष्य लिएको छ । लक्ष्य पूरा हुन सन् २०२३ को तुलनामा ५८ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । सन् २०१९ पछिका तीन वर्ष पर्यटक आगमन निकै न्यून थियो ।