• Menu

एसईईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १२:४६

एसईईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

नवलपुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । २०८० को एसईईमा सहभागी भएका १३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीनवटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई, हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् ।

मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वर्ल्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् ।

त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य मावि र प्राविधिक धारको जनता मावि अरुणखोला छन् । सनराइजबाट सात, वर्ल्ड लाइटबाट ६, रत्नराज्यबाट आठ र जनता माविबाट २२ विद्यार्थी एसईईमा सहभागी भएकोमा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका छन् ।

त्यसैगरी विनयी त्रिवेणीमा एक/एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । उनका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ मावि तथा सामुदायिकतर्फ कुदापानीको भवानी माविले एसईईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार र भवानी माविबाट १० विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार दमारको बालज्योति मावि र श्रीमद् रामानुज वेद विद्याश्रमको नतिजा शून्य आएको हो । बालज्योतिबाट ११ एवं वेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसईईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै विकट ठाउँको विद्यालयको रुपमा रहेको उनले बताए ।

हुप्सेकोटको जनता मावि गुहेरी र जनकल्याण राष्ट्रिय मावि शङ्खदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् ।  जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

बुलिङटारबाट एसईईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली मावि अर्खला र जनजागृति मावि ढाडबेँसीको नतिजा शून्य आएको छ । नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसईईमा सामेल भएको एकाइ प्रमुख शर्माले बताइ ।

उनका अनुसार जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् । रत्नराज्य लक्ष्मी मावि मुकुन्दपुर र डेढगाउँ माविबाट एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए ।

जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार ५२३ विद्यार्थी एसईईमा सहभागी भएकोमा एक हजार ८५३ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत छन् ।

एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार ६७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएको जानकारी दिए । संस्थागततर्फ ५२ विद्यालयका एक हजार ४०४ विद्यालय एसईईमा सहभागी भएकोमा ९८७ उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० छ । उनले संस्थागत विद्यालयबाट ४१७ विद्यार्थी एसईईमा ‘अनुत्तीर्ण’ भएको जानकारी दिए । अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउनेछन् ।

जिल्लाका १३९ विद्यालयबाट एसईईमा सहभागी भएका पाँच हजार ९२७ विद्यार्थीमध्ये दुई हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् । एसईईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत जिल्लामा ४७.९२ छ ।