काठमाडौं । लसुन-प्याज (हरियो, सुकेको तथा धुलो) आयातमा भारी गिरावट देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठसम्मको ११ महिनामा लसुन-प्याज आयातमा भारी गिरावट देखिएको हो ।
गत आव २०७९/८० को पहिलो ११ महिनामा ७ अर्ब ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्यको १ लाख ७८ हजार ७४३ टन लसुन-प्याज नेपाल भित्रिएकोमा चालु आवको सोही अवधिमा ४ अर्ब २४ करोड ६० लाख रुपैयाँबराबरको ६५ हजार ७१४ टन लसुन-प्याज आयात भएको छ ।
चालु आवको ११ महिनामा २ अर्ब १४ करोड रुपैयाँबराबरको ४९ हजार ९११ टन प्याज र २ अर्ब १० करोड ६० लाख रुपैयाँबराबरको १५ हजार ८०३ टन लसुन आयात भएको छ । गत आवको ११ महिनामा भने ६ अर्ब ३३ करोड ६३ लाख रुपैयाँबराबरको १ लाख ६८ हजार ७०३ टन प्याज तथा १ अर्ब १९ करोड ७६ लाख रुपैयाँबराबरको १० हजार ४० टन लसुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
कुल आयातमा हरियो र सुकेको प्याज-लसुनको हिस्सा धेरै छ । समीक्षा अवधिमा लसुन चीनबाट धेरै र प्याज भारतबाट धेरै आयात भएको छ ।
के हुन सक्छ कारण ?
आन्तरिक उत्पादन बढ्यो कि माग घट्यो भन्नेमा सरकारी अधिकारी अनभिज्ञ छन् । अहिले प्याज उत्पादन बढाउन संघ सरकारका कुनै पनि कार्यक्रम सञ्चालनमा छैनन् । केही स्थानीय तहले प्याज उत्पादनलाई लक्षित गरी अनुदानका कार्यक्रम चलाए पनि यति ठूलो खाडल पुर्ने गरी उत्पादन बढेको तथ्यांक सरकारसँग छैन ।
सरकारी कार्यक्रम भएकै बेलामा पनि यति ठूलो खाडल पूर्ति हुनेगरी आन्तरिक उत्पादन बढेकोबारे जानकारी नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।
‘अहिले त प्याज उत्पादन बढाउन संघ सरकारका कार्यक्रम छैनन्, स्थानीय तहले मात्र केही काम गरेका छन्,’ उनले नेपाल प्रफिटसँग भने, ‘तर यति ठूलो ग्याप फुलफिल हुने गरी उत्पादन बढ्यो भन्ने लाग्दैन, यसका धेरै पक्ष हुनसक्छन् ।’
सहसचिव केसीले धान-चामल आयातमा पनि भारी गिरावट आएको तथ्य प्रस्तुत गरे । ‘गत वर्षभरमा ३७ अर्बको धान-चामल आयात भएकोमा यो वर्षको ११ महिनामा जम्मा २०-२१ अर्बको आयात भएको छ,’ उनले भने, ‘फेरि आन्तरिक उत्पादन पनि त्यो स्तरमा बढेको छैन र बजारमा धान-चामलको अभाव पनि छैन ।’
प्याज-लसुनमा पनि यस्तै देखिएको उनले बताए । तीन गुणा कम आयात हुँदा पनि बजार कसरी सन्तुलनमा छ भन्ने कुरा अध्ययनकै विषय भएको डा. केसीले बताए । युवा बिदेसिने क्रम उच्च भएकाले माग घटेका कारण बजार सन्तुलित भएको हो या आन्तरिक उत्पादन बढेर हो भन्नेमा सरकारी अधिकारीहरु नै अनभिज्ञ छन् ।
चालु आवको बजेटमार्फत प्याज र लसुन आयातमा भ्याट लगाइएको छ । तर, बजार नै प्रभावित हुनेगरी मूल्यमा भ्याट वृद्धिको खासै असर देखिँदैन । भन्सार विन्दुको मूल्य गणना गर्दा गत वर्ष प्रतिकिलो हरियो तथा सुकेको प्याज प्रतिकिलो ३७ रुपैयाँका दरले आयात भएको छ भने चालु आवमा ४२ रुपैयाँ किलोका दरले आयात भएको छ । लसुनको धुलो आयातमा भने गत वर्ष चालु आवमा खासै फरक छैन ।
तर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भने भारतीय प्याजको मूल्य निकै बढेको देखाउँछ । २०८० असार १५ गते प्रतिकिलो औसत ४५ रुपैयाँ रहेको सुकेको भारतीय प्याजको मूल्य २०८१ असार १५ गते ११६ प्रतिशतले बढेर ९७ रुपैयाँ ५० पैसा पुगेको छ । हरियो प्याज भने १० प्रतिशत मूल्य घटेर प्रतिकिलो ९६ रुपैयाँ ६७ पैसाबाट ८६ रुपैयाँ ६७ पैसामा झरेको छ ।
त्यस्तै हरियो लसुनको भाउ पनि समीक्षा अवधिमा प्रतिकिलो ९६ रुपैयाँ ६७ पैसाबाट घटेर ८६ रुपैयाँ ६७ पैसामा झरेको छ । चिनियाँ सुकेको लसुन २२२ रुपैयाँ मूल्यमा यथावत् छ । सुकेको नेपाली लसुन भने ३० प्रतिशत मूल्य बढेर प्रतिकिलो १५६ रुपैयाँ ६७ पैसाबाट २०५ रुपैयाँ पुगेको छ ।
प्याज लसुन आयातमा गत वर्षको ११ महिनामा सरकारले १ अर्ब ७ करोड राजस्व संकलन गरेकोमा चालु आवको सोही अवधिमा ९७ करोड ३२ लाख राजस्व संकलन गरेको छ ।