काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप- ईपीजी)को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए ।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल-भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।
रूस-युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासंघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उनले उल्लेख गरे ।
प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदलसमेत गठन गरिएको जानकारी दिए । उनले बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे ।
राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै उनले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताए ।