• Menu

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसानले थाले केराखेती

नेपाल प्रफिट

२०८१ असार ११, ११:२८

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसानले थाले केराखेती

उदयपुर । दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि कटारी नगरपालिका–८ का किसानले वैकल्पिक खेती थालेका छन् । मकै र कोदोबालीलाई जंगली पशुपन्छीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् ।

जंगली जनावरको सास्तीबाट बच्न केराखेती थालेको किसान लाखबहादुर राईले बताए । ‘चार सयजति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालेको छु,’ उनले भने, ‘गत वर्ष पनि झन्डै एक लाखको केरा बेचेँ, यस वर्ष झनै केराखेती बढाएको छु ।’

भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, खोटाङ बनेको छ । ‘पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन्, त्यसैले बजार लैजानुपर्ने झन्झट पनि छैन,’ कटारी–८ ढापटारका अर्का किसान रत्नबहादुर विश्वकर्माले भने, ‘फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन् ।’

किसान साङ्दोर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुनु नपरेको बताए । किसानले थोरैमा प्रतिघर बर्सेनि ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका छन् । पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ अध्यक्ष नवीन्द्र तामाङले बताए ।

नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा ५० रुपैयाँले लैजाने गर्दा आम्दानी राम्रो भएको सुनाए । ‘अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने विचौलियाले यहीँको यहीँ ८० खापामा बेच्ने गरेका छन्,’ उनले भने ।

वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी ४५० हाराहारी किसानले केराखेती गर्दै आइरहेका छन् । केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिएको छ ।

तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । परम्परागत अन्न खेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।