काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मुलुकमा भएका विभिन्न अनियमिततासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइने बताएका छन् ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट पारित भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बनाइने बताए ।
गृहमन्त्री लामिछानेले आजैदेखि प्रहरीले पतञ्जली आयुर्वेद कम्पनीको जग्गासम्बन्धी प्रकरणको अनुसन्धान अघि बढाउन मन्त्रालयले निर्देशन दिइसकेको पनि जानकारी दिए ।
उनले सुन काण्ड, अवैध सुनको तस्करी तथा पैठारी, बाँसबारी जग्गा प्रकरण, बालमन्दिर, सहकारी ठगी, सरकारी छाप किर्ते, जघन्य अपराध तथा भुक्तानी सेवाप्रदायक पेवेल र सजिलो पेमार्फत अपराधजन्य मुद्रालाई वैधानिक बनाइएको लगायतका प्रकरणमा अनुसन्धानलाई तीव्र पारिएको पनि सदनलाई अवगत गराए ।