काठमाडौं । नेपालमा व्यवस्थित बधशाला नहुँदा बर्सेनि अर्बौं मूल्यको बोसो आयात हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालु आव २०७८/८१ को जेठसम्ममा १० अर्ब रुपैयाँको बोसो आयात भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब १४ करोड, २०७६/७७ मा ७४ करोड ८० लाख, २०७७/७८ मा २ अर्ब २० करोड, २०७८/७९ मा २ अर्ब १६ करोड, २०७९/८० मा १ अर्ब ७१ करोड र चालु आवको ११ महिनामा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढी मूल्यको बोसो आयात भएको हो ।
नेपालमा भारतबाट सबैभन्दा बढी बोसो आयात हुन्छ । त्यसबाहेक लेबनान, न्युजिल्यान्ड, थाइल्यान्ड र साउदीबाट पनि बोसो आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
साबुन, कस्मेटिक र दाना उत्पादक उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्न पशुको बोसो ल्याएका हुन् । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार सबैभन्दा बढी बोसो साबुन उद्योगले आयात गर्छन् ।
नेपाल व्यवस्थित बधशाला नहुँदा बोसो आयात हरेक वर्ष बढ्दो छ । गत वर्ष ११ महिनामा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँको बोसो आयात भएकोमा यो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडको बोसो भित्रिएको छ ।
पशुको बोसो नेपालमै जति पनि उत्पादन हुनसक्छ । तर, व्यवस्थित बधशाला नभएका कारण विदेशबाट अर्बौं मूल्यको बोसो आयात गर्नुपर्ने स्थिति छ । एक किलो मासुमा ३ सय ग्रामसम्म बोसो हुन्छ ।
मासुबाट बोसो छुट्याउने प्रविधियुक्त बधशाला नहुँदा एकातिर उपभोक्ता स्वास्थ्यका लागि हानिकारक मानिने बोसोका लागि पैसा तिर्न बाध्य छन् भने अर्कातिर त्यही बोसो खरिदका लागि ठूलो पैसा बिदेसिइरहेको व्यापारविद्हरु बताउँछन् ।
मासु काट्दा बोसो छुट्ट्याउन सके बाइप्रोडक्टका रुपमा प्रयोग गर्न सकिन्छ । बोसो र विभिन्न केमिकल प्रयोग गरेर साबुन बनाइन्छ ।
बोसोको मूल्य भने सामान्य घटेको छ । एक किलो बोसो आयातका लागि गत आवमा व्यापारीले प्रतिकिलो १२८ रुपैयाँ तिरेका थिए । चालु आवमा भने प्रतिकिलो १२३ रुपैयाँ तिरेको भन्सारको तथ्यांकले देखाउँछ ।
तर, बोसो आयात भने उच्च दरमा बढेको छ । गत वर्षभरमा १ करोड ३२ लाख ७४ हजार ८७० किलो बोसो आयात भएकोमा चालु आवको ११ महिनामा १ करोड ६६ लाख ६० हजार ६८१ किलो बोसो आयात भएको छ ।