• Menu

नदी सफाइ गर्दै काठमाडौँ महानगर, धोबीखोला र भचाखुसीपछि टुकुचा पुगे महानगरका कर्मचारी

नेपाल प्रफिट

२०८१ असार ९, १३:२०

नदी सफाइ गर्दै काठमाडौँ महानगर, धोबीखोला र भचाखुसीपछि टुकुचा पुगे महानगरका कर्मचारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेको छ ।

सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहोर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले जानकारी दिए ।

रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुन्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लास्टिकलगायतका फोहोर थुप्रिन थालेको छ ।

सफाइ गरुन्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहोर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकालले बताए । उनका अनुसार महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा ‘हिँड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको छ ।

महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ । महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहोर हाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।

विसं २०७० जेठ ५ देखि बागमती सफाइ सुरु गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । बागमती सफाइ महाअभियानले ५८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । बागमतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु भए पनि नदीका अवस्था उस्तै छन् ।

जनस्तरबाट सुरु भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ सुरु गरेको हो ।