• Menu

अघि बढ्यो १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजना निर्माण

नेपाल प्रफिट

२०८१ जेठ ११, शुक्रबार ११:३७

अघि बढ्यो १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजना निर्माण

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।

संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा बिहीबार आयोजना शिलान्यास गरेका हुन् । आयोजनाको प्रवर्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी हो ।

अध्यक्ष लिम्बूले चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए ।

‘जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस्,’ उनले भने ।

आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे ।

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ निर्धारण गरिएको छ ।

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४२३ किलोवाट प्रतिघण्टा तथा सुक्खायाममा ९ करोड १६ लाख ९२ हजार ८७५ किलोवाट प्रतिघण्टा हुने प्रक्षेपण गरिएको छ ।