• Menu

आज बुद्धजयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम आयोजना

नेपाल प्रफिट

२०८१ जेठ १०, १०:१८

आज बुद्धजयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम आयोजना

रुपन्देही । आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदै छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएकाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो संकल्प रहेको सुनाए । त्यसका निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको उनको भनाइ छ ।

विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी पुगेका छन् ।

कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार साँझदेखि नै मायादेवी मन्दिरमा  महापरित्राण पाठ जारी छ ।

बिहीबार बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलंका त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।