• Menu

सिरोहिया पक्राउको विरोधमा प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

नेपाल प्रफिट

२०८१ जेठ ९, बुधबार १४:५६

सिरोहिया पक्राउको विरोधमा प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध विभिन्न मिडियाका सम्पादकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपालका विभिन्न सञ्चार माध्यममा कार्यरत सम्पादकहरूले सञ्चार गृहबाटै भएको गिरफ्तारीका सम्बन्धमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले प्रधानमन्त्रीलाई ५ बुँदे संयुक्त पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ । नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ । यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन् ।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं । उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन । हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ । यो विषय अब अदालतले नै निरूपण गर्नेछ ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं– तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् । अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेको भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् ।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं । सहकारी ठगीको समस्या विकराल बनेको छ । अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन् । गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन् ।

मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन् । जबकि, पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सीआईबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन् । सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन् । हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं ।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादक प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं । र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।

प्रतीक प्रधान – बाह्रखरी

शिव गाउँले – अनलाइनखबर

अमित ढकाल – सेतोपाटी

किरण नेपाल – खोज पत्रकारिता केन्द्र

युवराज घिमिरे – देशसञ्चार

सुधीर शर्मा –

मदन लम्साल – अभियान

विमल गौतम – लोकान्तर

सागर पण्डित – नेपाल समाचारपत्र

राजाराम गौतम –

सुजित महत – उकालो

पूर्णबहादुर बस्नेत – नेपाल खबर

वसन्त बस्नेत – अनलाइनखबर

हरिबहादुर थापा – बाह्रखरी

उमेश चौहान- कान्तिपुर

रामेश्वर बोहरा – उकालो

कोषराज कोइराला – रिपब्लिका दैनिक

गुणराज लुइँटेल – नागरिक दैनिक

रूपेश श्रेष्ठ – कान्तिपुर टिभी

अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट

विश्वास बराल – द काठमाडौं पोस्ट

सरोज मिश्र – राजधानी दैनिक

अरूण बराल – खबरहब

कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस

प्रकाश रिमाल –

कसमस विश्वकर्मा –

सञ्जीव सतगैयाँ

विजय पौडेल – कान्तिपुर टिभी

रामप्रसाद दाहाल – रातोपाटी

दुर्गा खनाल – इकान्तिपुर

पुष्प दुलाल- क्लिकमाण्डु