चितवन । गर्मी बढेपछि कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।
जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ ।
‘क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाइ, खानपानलगायत कुरामा विशेष ध्यान दिन भनेका छौँ,’ आचार्यले भने, ‘यो समयमा लामखुट्टेको टोकाइबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाइ गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ ।’ क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको संक्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको उनको भनाइ छ ।
कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए । भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगन्ज कारागार नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।
२८० जनाको क्षमता रहेको कारागारमा अहिले ७३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना, उनीहरुसँग आश्रित दुई बालबालिका र २५५ क्षमता रहेको पुरुष बन्दीगृहमा ६९५ जना छन् ।