• Menu

दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

नेपाल प्रफिट

२०८१ जेठ ८, १९:०१

दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय नै पुगेका थिए । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएपछि सिरोहिया पक्राउ परेका हुन् ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा २०८१ वैशाख १६ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरेको उल्लेख छ । उनलाई आजै जनकपुर लैजाने प्रहरीको तयारी छ ।

सिरोहियाले भने सहकारीको बचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।