काठमाडौँ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल)ले आठ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा चार हजार ११३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।
मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको हो ।
कम्पनीले अर्ध जलाशययुक्त प्रकृतिको ४८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।
यसैगरी कम्पनीले ४५४ मेगावाट क्षमताको किमाथांका अरुण र एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई पनि अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीका अनुसार चाँडै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछ ।
कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ । ऊर्जा मिश्रणको अवधारणामा समेत काम गर्ने उद्देश्यका साथ सौर्य परियोजनाको काम कम्पनीले सुरु गरेको शाहीको भनाइ छ ।
नेपालको पानी जनताको लगानी अवधारणा
सरकारले ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा स्थापना कम्पनी हो, विद्युत् उत्पादन कम्पनी । यो कम्पनीले ठूला क्षमताका आयोजना अगाडि बढाउने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।
सोही कम्पनीको सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गत बुधबारमात्रै १०६ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । चालु आवमा आवश्यक तयारी गरेर आगामी आवको सुरुदेखि नै निर्माणमा जाने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको निर्माण, उत्पादन, वितरण र बिक्रीको चापलाई कम गर्ने लक्ष्यका साथ सरकारले सो कम्पनी स्थापना गरेको हो । ऊर्जा क्षेत्रको समग्र सुधार गर्ने र व्यवस्थित रुपमा काम गर्ने लक्ष्यका साथ सरकारले २०७३ मंसिर ५ मा कम्पनी स्थापना गरेको हो ।
ऊर्जा क्षेत्रको पुनःसंरचना गर्ने र कामलाई थप सहज रुपमा अगाडि बढाउने उद्देश्यले २०७२ सालमा कम्पनी स्थापना गर्ने निर्णय गरिएको थियो ।
सरकारले २०७२ फागुनमा ल्याएको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ कार्ययोजनामा उत्पादनसहित ऊर्जा क्षेत्रमा करिब ६ वटा कम्पनी स्थापना गर्ने उल्लेख छ । सो अवधारणामा रहेर स्थापना गरिएको कम्पनीले देशको समग्र ऊर्जा क्षेत्रको विकासमा संस्थागत प्रयास थालेको छ ।
अघि बढ्दैछन् यी आयोजना
प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ ।
सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख गरेको छ ।
यस्तै ७.१ मेगावाट क्षमताको ताप्सुलाई निकट भविष्यमा नै निर्माणमा लैजाँदै छ । १०६छ मेगावाट क्षमताको जगदुल्लाको वित्तीय व्यवस्थापन भइसकेको छ । १२० मेगावाट क्षमताको जलदुल्ला ‘ए’को अध्ययन जारी छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार असारभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।
कम्पनीले सेयर अगाडि बढाएको अर्को आयोजना हो सिम्बुवा खोला । सो आयोजनाको क्षमता ७०.३ मेगावाट छ । त्यसलाई रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइएको छ ।
त्यस्तै, ७७.५ मेगावाट क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै छ । कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र शेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व छ ।
प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङमा समेत भीयूसीएलले लगानी गरेको छ । त्यस्तै नेपाल पावर ट्रेडिङ कम्पनीमा पनि स्वामित्वसहितको लगानी छ ।
मुलुकलाई ऊर्जामा पूर्णरुपमा सम्पन्न गराउने, लगानीका विभिन्न स्रोतहरुको खोजी गर्ने र सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यलाई साकार पार्न कम्पनी लागिपरेको प्रमुख कार्यकारी अधिकृत शाहीले बताए ।
यस्तो छ कम्पनीको सेयर संरचना
कम्पनीको अधिकृत पुँजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको दुई अर्ब, अर्थ मन्त्रालयको ५० करोड र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको ५० करोड सेयर स्वामित्व छ ।
नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको समान एक–एक अर्ब र नागरिक लगानी कोषको ५० करोडबराबरको सेयर छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ४० करोड र राष्ट्रिय बिमा संस्थानको २० करोड रुपैयाँबराबरको सेयर स्वामित्व रहेको भीयूसीएलले जनाएको छ ।
हालसम्म सात अर्ब १० करोड रुपैयाँबराबरको सेयर बाँडफाँट भएको छ । बाँकी सेयर आम नागरिकलाई बिक्री गर्ने कम्पनीको योजना छ । सेयरधनीले चार अर्ब १० करोड रुपैयाँबराबरको रकममात्रै चुक्ता गरेका छन् । दुई अर्ब ८१ करोडबराबरको रकम भने सेयरधनीले उपलब्ध गराउन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।
संस्थागत सेयरधनीलाई समूह ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । यो समूहको सेयर ७१ प्रतिशतबराबर छ भने ‘ग’ मा रहेका सर्वसाधारण समूहका लागि २९ प्रतिशतबराबर छुट्याइएको छ ।
श्रममार्फत विपन्न नागरिकलाई सेयर
सर्वसाधारण नागरिकलाई १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई पनि कम्पनीले सेयर उपलब्ध गराउनेछ । श्रम, रोजगारी वा अन्य कुनै विकल्पको प्रयोग गरेर अति विपन्न नागरिकले सेयर लगानी गर्न सक्ने प्रबन्ध गरिएको छ ।
पूर्वऊर्जामन्त्री जनार्दन शर्माका अनुसार अति विपन्न नागरिकले समेत अपनत्व महसुस गर्ने गरी कम्पनीमा सेयरको प्रबन्ध गरिएको हो । शर्मा नै ऊर्जामन्त्री हुँदा यो कम्पनी स्थापना गरिएको थियो ।
नेपालको पानी जनताको लगानी, हरेक नेपाली सेयरधनी बनाउने उद्देश्यका साथ आर्थिक रुपमा लगानी गर्न नसक्ने नागरिकलाई समेत श्रम, रोजगारी वा अन्य कुनै विकल्पमार्फत लगानीको अवसर प्रदान गरिएको उनको भनाइ छ ।
लगानीको स्रोत नै नागरिक हुन् भन्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले अनेकन् कारणले अपेक्षित कामलाई भने तीव्र गतिमा अगाडि बढाउन नसकेको गुनासो बेला–बेलामा आउने गरेको छ । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाही सरकारको सोच र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आफूहरु अगाडि बढिरहेको बताउँछन् । (रासस)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal