हेटौंडा । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी-अमलेखगन्ज पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।
अमलेखगन्ज-लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।
‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ,’ उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ ।
मोतिहारी-अमलेखगन्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगन्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्यांक’, २५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्यांक’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे-रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरिएको प्रमुख उपाध्यायले बताए ।
पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ ।
एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।