• Menu

बनेपाका एक हजार घरमा कौसीखेती

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार ०९:१२

बनेपाका एक हजार घरमा कौसीखेती

काभ्रे । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ ।

उक्त शाखाले कौसीखेती प्रवर्धनका तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको छ । तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रुपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईंले बताए ।

उनका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का एक हजार घर परिवारका लागि ग्रो–ब्याग चार हजार थान, कम्पोस्ट मल दुई हजार प्याकेट, कोकोपिट दुई हजार, एक हजार हजारी र एक हजारलाई बीउबीजन वितरण गरिनेछ ।

शाखाका अनुसार कौसीखेतीका लागि सबैभन्दा धेरै वडा नं ८ मा तीन सय, ७ मा दुई सय ७०, ९ का एक सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी एक हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका छन् । नगरले कौसीखेतीका लागि प्रोत्साहन स्वरुप निःशुल्क तालिम सुरु दिलाएसँगै एक हजार महिला यस खेतीमा आबद्ध भएका हुन् ।

‘छोराछोरीलाई झोलामा होइन, माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसीखेतीले सघाएको छ, खेतीमा चलाउमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु,’ बनेपा–७ की जमुना घिमिरेले भनिन् । उनले विशेष गरी आफ्नै कौसीमा साग, धनियाँ, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेकी छन् ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेरेर तनाव व्यवस्थापनमा सहयोगी भएको बताए । ‘कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरेर त्यसबाट मोहोर बनाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने ।

उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसीखेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताइन् । उनका अनुसार खुर्सानी, कागती, धनियाँ, साग, काँक्रो, फर्सी मुन्टा र पुदिना कौसीखेतीका मुख्य बाली हुन् । बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उनको अनुभव छ ।