• Menu

वीरगन्ज सुक्खा बन्दरगाहबाट लक्ष्यको ६० प्रतिशतमात्र राजस्व संकलन

नेपाल प्रफिट

२०८१ जेठ ३, ११:४०

वीरगन्ज सुक्खा बन्दरगाहबाट लक्ष्यको ६० प्रतिशतमात्र राजस्व संकलन

पर्सा । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक मन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको बताए । ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,’ उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।’

भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुने गरेको छ । विगतमा दैनिक तीनवटा कार्गो रेलबाट मालसामान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउँछ ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए पनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने अनुमान गरेको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलन घटेको बताए । ‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात भएको छैन,’ उनले भने । गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात नबढेको उनले बताए ।

कार्यालयले चालु आवको साउनमा चार अर्ब सात करोड, भदौमा चार अर्ब ५७ करोड र असोजमा चार अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । त्यस्तै कात्तिकमा तीन अर्ब ६३ करोड, मंसिरमा चार अर्ब २८ करोड, पुसमा तीन अर्ब ७५ करोड, माघमा तीन अर्ब ७४ करोड, फागुनमा तीन अर्ब ६२ करोड, चैतमा चार अर्ब २८ करोड र वैशाखमा तीन अर्ब ५८ करोड रुपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ ।

गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजारमात्र संकलन गरेको थियो ।