• Menu

इच्छाकामनामा ९० करोड लागतको खानेपानी आयोजना सम्पन्न, चेपाङ बस्तीमा घरैपिच्छे धारा

रासस

२०८१ जेठ ३, १०:१७

इच्छाकामनामा ९० करोड लागतको खानेपानी आयोजना सम्पन्न, चेपाङ बस्तीमा घरैपिच्छे धारा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।

खानेपानी आयोजनाको बुधबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरेका छन् । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान गरिएका छन् ।

अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेकाले चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।

गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब ९० करोड कुल लागतको आयोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको अध्यक्ष गुरूङले बताए ।

अहिले ५५ घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक–एक वटा धारा जडान गरिएको छ । सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्यांकीबाट १६ घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्‍याइएको छ । यहाँका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ ।

गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिइन् । वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना कार्यान्वयनमा रहेको उनले बताइन् ।

वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएको र आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील जानकारी दिइन् ।

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने प्रवृत्ति क्रमशः हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै अन्य आयोजनामा पनि अनिवार्य श्रमदानको व्यवस्था गर्ने सोचमा आफू रहेको बताएका छन् ।