धनुषा । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिप ट्युबवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।
मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएका डिप ट्युबवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।
दुवै जिल्लाका डिप ट्युबवेलबाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक-पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।
चालु आर्थिक वर्षमा पाँचवटा र गत वर्ष तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका-२, देउरीपरवाहा धनुषा, नगराइन नगरपालिका फुलगामा धनुषा, मटिहानी नगरपालिका-२ धिरापुर महोत्तरी, भंगाहा नगरपालिका-४ पशुपतिनगर महोत्तरी, वलवा नगरपालिका-९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिप ट्युबवेलका ट्रान्सफर्मर चोरिएका छन् ।
त्यसैगरी गत आवमा धनुषाधाम नगरपालिका-४ धनुषा, हंसपुर नगरपालिका-५ सुगानिकास धनुषा तथा नगराइन नगरपालिका फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न पाँच लाख खर्च लाग्ने गरेको छ ।
धनुषा र महोत्तरीमा ४१ वटा डिप ट्युबवेल जडान गरेर सिँचाइ भइरहेको छ । एउटा डिप ट्युबवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिप ट्युबवेलको निर्माण तथा सञ्चालनमा ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।
उक्त कार्यालयबाट जडान भएका ८० वटा पावर ड्रिल ट्युबवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिल ट्युबवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत १५ लाख रुपैयाँ छ । यहाँका किसानले डिप ट्युबवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताए ।