• Menu

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

नेपाल प्रफिट

२०८१ वैशाख ३१, १६:२२

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि २०८० फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका यादवले सोमबार राजीनामा बुझाएका हुन् ।

‘करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा राजीनामा दिएको छु,’ प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा उनले लेखेका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सोमबार नै दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर उनले रिट दिएका हुन् ।

यादवले जनता समाजवादी पार्टी नामक दल दर्ता भएको सूचना राजपत्रमा प्रकाशन गर्ने गरी भएको निर्णय बदर गर्न, नयाँ दल गठन गर्नेहरुको हस्ताक्षर सनाखत प्रक्रिया यथास्थितिमा राख्न र दल विभाजन गरेर जानेहरुलाई संघीय संसदको हैसियतले कुनै पनि काम गर्न नदिन आदेश माग गरेका छन् ।