• Menu

झापाको बिर्तामोड नगरपालिकाले १० महिनामा के-के गर्‍यो काम ?

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १२:०४

झापाको बिर्तामोड नगरपालिकाले १० महिनामा के-के गर्‍यो काम ?

झापा । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १०.८४ किलोमिटर सडक कालोपत्र, ३४.८८ किलोमिटर सडक ग्राभेल र ४.४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।

उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक बत्ती, विद्युत् पोल विस्तार, सडकमा पानी बग्न नदिन नाला निर्माण  गरेको छ ।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार १०४.३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छ भने एउटा झोलुंगे पुल, ५६ वटा भवन मर्मत र सातवटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि ३८० मिटर पाइपलाइन विस्तार गरिएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेश र संघय सरकारसँग समन्यव गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रंगशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।

बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’को आयोजनाका रूपमा रहेको बुटावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ ।  ६.२ किलोमिटर लामो सो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो ।

सो सडक निर्माणका लागि विश्व बैंकले ५१ करोड २९ लाख ६१ हजार तीन सय ७२ ऋण प्रवाह गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

सडकको दायाँबायाँ पानी निकासको नाला निर्माण गरिनेछ भने बत्ती, पैदलयात्री मार्ग बनाइनेछ । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकलाई पनि समेट्ने नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।

यससहित बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइरहेका छन् । बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ ।

तिनमा मदरसा पाठशालाको शैक्षिक सुधारदेखि सामुदायिक वनमा व्यायमशाला निर्माणसम्म छन् । नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको संख्या ४० छ । बिर्तामोडका १० वटै वडामा वडागत योजनाअन्तर्गत विकास–निर्माणको काम भइरहेको छ ।