• Menu

काठमाडौँमा सोमबार स्वास्थ्य सम्मेलन, एउटै मञ्चमा चिकित्सा शिक्षादेखि पर्यावरणसम्मको बहस

नेपाल प्रफिट

२०८१ वैशाख २९, शनिबार १८:४९

काठमाडौँमा सोमबार स्वास्थ्य सम्मेलन, एउटै मञ्चमा चिकित्सा शिक्षादेखि पर्यावरणसम्मको बहस

काठमाडौँ । वैशाख ३१ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुँदैछ । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडिया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।

उद्घाटन सत्रपछि सम्मेलनका अवसरमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयमा बृहत छलफल हुनेछ । पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसरका विषयमा छलफल गरिनेछ । यस सत्रमा विश्व समुदायले अनुशरण गरेको नेपालीको मौलिक जीवनशैलीलाई कसरी पुन: अभ्यासमा ल्याउन सकिन्छ, परिवर्तित समय र व्यस्त जीवनशैलीले निम्त्याएको स्वास्थ्य जटिलता पुनर्मूल्यांकनको आवश्यकता र अन्तर्राष्ट्रिय पर्यटनको अवसरलगायतका विषयमा सरोकारवाला पक्षहरुबीच छलफल हुनेछ ।

साथै जलवायु परिवर्तनका कारण दबाबमा परेको नेपालको जनस्वास्थ्यको विषयमा पनि समम्मेलनका क्रममा छलफल हुनेछ । स्वास्थ्य बिमा कार्यक्रम : चुनौती र अवसर, नसर्ने रोगका जोखिमविरुद्ध हाम्रो रणनीति जस्ता विषयमा पनि बहस हुनेछ । सम्मेलनमा नेपालको चिकित्सा शिक्षाको विषयमा पनि बृहत् छलफल हुने आयोजकले जनाएको छ । मैलिक हकमा समेटिएको स्वास्थ्य  सेवामा बढ्दो व्यापारीकरणका विषयमा पनि सम्मेलनमा गहन छलफलको सत्र राखिएको छ ।

सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरू र आम नागरिकहरुबीच छलफलका लागि साझा मञ्च प्रदान गर्नेछ ।

स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा रहने नेपाल स्वास्थ्य सम्मेलनले समाजका सबै क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै स्वास्थ्य क्षेत्रका सबै आयामबारे स्वस्थ बहस अघि बढाउने बताएको छ ।

पृष्ठभूमि वा पेसा जस्तोसुकै भए पनि देशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रत्येक नेपालीको दायित्व र जिम्मेवारीअनुसार सम्मेलनमा स्वस्थ नेपालका लागि राष्ट्रिय आह्वानका रुपमा अगाडि बढ्ने विश्वास लिइएको छ ।

सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरुलाई पेस गरिनेछ । यसअघि कोभिड महामारीका बीच स्वास्थ्य सजगता अपनाउँदै त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ चैतमा काठमाडौंमा सम्पन्न भएको थियो ।