सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।
‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ उनले भने, ‘आज सुरूङको ‘ब्रेक थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’
सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘सुरूङमार्गको ब्रेक थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ,’ उनले भने ।
कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए ।
नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेस तथा भित्री मधेसभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेस क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजना नदी बहाव प्रणालीमा आधारित रहेको बताए । ‘हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गर्न सकिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ-आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपिल गरे ।
यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।
आयोजना सञ्चालनपश्चात सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसंख्याको बहुआयामिक विकास हुने उनले उल्लेख गरे । माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल/जलासयमा पर्यटन व्यवसाय फस्टाउने प्रधानमन्त्रीले बताए ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछापको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुग्नेछ ।
हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य छ ।