सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगले ल्याइने बताएका छन् ।
नेकपा माओवादी केन्द्र सुनकोशी गाउँसमितिद्वारा बुधबार मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । ‘म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ,’ उनले भने ।
राष्ट्रिय आर्थिक सूचकांकमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने जानकारी उनले दिए । समाजवादको आधार तयार गर्ने नीति लिइने प्रधानमन्त्रीले बताए ।
नीति तथा कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति तथा कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललिता निवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनले दाबी गरे ।
माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे ।
वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगबाट अघि बढाएको उल्लेख गर्दै उनले पछिल्ला समय भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।