• Menu

रुस-युक्रेन युद्ध मैदानमा रहेका नेपालीसँग फोनमा कुरा गरेको छु, फिर्ता ल्याउन थप पहल गर्छु : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार १२:४१

रुस-युक्रेन युद्ध मैदानमा रहेका नेपालीसँग फोनमा कुरा गरेको छु, फिर्ता ल्याउन थप पहल गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा रहेका नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताएका हुन् ।

‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले लगातार कूटनीतिक पहल गरी नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए ।

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैंले थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा गरेको र उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जीसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो ।

सोही प्रतिबद्धताअनुसार मंगलबार प्रधानमन्त्रीले ती परिवारका सदस्यलाई भेट गरी उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्