• Menu

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार ११:३०

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची । सन्धिखर्क नगरपालिका-१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफी खेतीसम्बन्धी तालिम दिइएको छ ।

व्यावसायिक कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्याहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

अन्नबाली लगाउँदा बाँदर तथा जंगली जन्तुबाट बचाउन गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न समस्या भएकाले कफीखेती राम्रो विकल्प भएको तालिममा सहभागी किसानले बताएका छन् ।

तालिममा सहभागी प्रत्येक किसानले दुईदेखि ६ रोपनी जग्गामा दुई सयदेखि ६ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवर्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क-१० का अध्यक्ष धर्मराज भुसालले बताए ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको संघीय ससर्त अनुदानतर्फको २० लाखको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्रांगारिक मल खरिद, सिँचाइका लागि पानीट्यांकी निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क-१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले जानकारी दिए ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफीखेतीसम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्