• Menu

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार ११:१०

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

सुनसरी । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य सावित गरेका छन् ।

आठ वर्षको वैदेशिक रोजगारीपछि फर्किएका धरानका एनसी राई र वीरेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले १० लाख लगानीमा धरान उपमहानगरपालिका-१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेका हुन् ।

अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।

धरान उपमहानगरपालिका-९ गौतम पथ र धरान-१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहेका छन् । उनीहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आएका छन् । उद्योगमा आठ जनालाई रोजगारी पनि दिएका छन् । कामदारलाई मासिक आठदेखि ३० हजारसम्म तलब दिएका छन् ।

उद्यमी एनसीले आफ्नो पुर्ख्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गरका हुन् । उनी व्यवसायसँगै सामाजिक संघसंस्थामा पनि आबद्ध भएर काम गरिरहेका छन् ।

उनी हसनपुर-सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्य छन् । भक्तपुरका वीरेन्द्र थापा धरानमा २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आएका छन् ।

एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपर्थ्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेको राईले बताए ।

धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राईले सुनाए । अहिले धरानमा मात्र नभएर धरानबाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ- ब्रदर्स बेकरी ।

राईले दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएका छन् । उनीहरूले ब्रदर्स बेकरीका तर्फबाट तालिम पनि दिँदै आएको वीरेन्द्र थापा बताउँछन् । उनीहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका छन् ।

लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउँछन् । अहिले आफ्नै ठाउँमा आठ-दस जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उनीहरु दंग छन् ।

धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एसोसिएट डिलरसमेत सञ्चालनमा छन् । उनीहरूले सञ्चालन गर्दै आएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक दुईदेखि अढाइ लाख सम्म बचत हुने गरेको बताए ।

ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्छन्, ‘मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन, विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्