• Menu

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी

मन्त्री अधिकारी भन्छन्- सहकारीका बचतकर्ताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई छैन

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार १०:५८

मन्त्री अधिकारी भन्छन्- सहकारीका बचतकर्ताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई छैन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।

जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो, त्यसको खिलापमा काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यताविपरीत काम गर्न थाले, बचतकर्ताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन,’ उनले भने ।

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन,’ मन्त्री अधिकारीले भने ।

लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए ।

‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्‍याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।

सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेकाले विगतका अभ्यासबाट पाठ सिकेर पनि अगाडि बढ्नुपर्ने उनले बताए ।

‘सहकारीमा मुद्दती निक्षेपमा पैसा राख्ने व्यवस्था छैन तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्यायौँ, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन् ?’ उनले प्रश्न गरे, ‘यो अवस्था आउनुमा दोष कसको ?’

यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि समस्या सिर्जना भएको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारीप्रति अनरसिप महसुस गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको प्रस्टोक्ति दिए ।

प्रतिक्रिया दिनुहोस्