• Menu

वित्तीय क्षेत्रको सुदृढीकरण र वित्तीय सेवामा पहुँच वृद्धिका लागि विश्व बैंकको साढे १० अर्ब सहयोग

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार १०:३६

वित्तीय क्षेत्रको सुदृढीकरण र वित्तीय सेवामा पहुँच वृद्धिका लागि विश्व बैंकको साढे १० अर्ब सहयोग

काठमाडौं । वित्तीय क्षेत्रको सुदृढीकरण र वित्तीय सेवामा पहुँच अभिवृद्धिका लागि विश्व बैंकले नेपाललाई ८ करोड डलर अर्थात् १० अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले मंगलबार नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन ८ करोड डलर सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो ।

थर्ड फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग गर्न वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य लिएको छ ।

विश्व बैंकको सहयोगले नेपालको बैंकिङ र बिमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्नेछ तथा पुँजी, बिमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विज्ञप्तिमा उल्लेख छ ।

महिला उद्यमीलाई केन्द्रित गर्दै डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरण पनि बढ्ने अपेक्षा विश्व बैंकको छ ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यस परियोजनाले नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्