• Menu

यातायात व्यवस्था विभागलाई प्रधानमन्त्रीको प्रश्न- लाइसेन्स वितरण किन सहज छैन ? नियतमा समस्या हो ?

नेपाल प्रफिट

२०८१ वैशाख २४, सोमबार १६:१४

यातायात व्यवस्था विभागलाई प्रधानमन्त्रीको प्रश्न- लाइसेन्स वितरण किन सहज छैन ? नियतमा समस्या हो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई बोलाएर छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिस्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएकाले तत्काल सम्बोधन गर्न निर्देशन दिए ।

‘सवारी चालक अनुमति पत्रबारे बाहिर गम्भीर प्रश्न उठेका छन्, यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ, खासगरी युवाले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्,’ उनले भने, ‘लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यसरी भएको छैन, नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु, यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु, यो समस्या तत्काल समाधान गर्नुस् ।’

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सको डिजिटल सिस्टमलाई व्यवस्थित गर्न निर्देशन दिए । ‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ,’ उनले भने, ‘तसर्थ जनस्तरमा उठेका जिज्ञासा र प्रश्नको गम्भीरतापूर्वक समाधान गर्नुस्, भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नुस् ।’

सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपाय अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, त्यसबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायतका अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्