• Menu

चेम्बरमा पाक्न थाले केरा, १५० कोसा पकाउन ३५ रुपैयाँ खर्च

नेपाल प्रफिट

२०८१ वैशाख २४, सोमबार १६:०३

चेम्बरमा पाक्न थाले केरा, १५० कोसा पकाउन ३५ रुपैयाँ खर्च

चितवन । केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि चितवनका व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ ।

अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुंगानाले जानकारी दिए । ‘केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो,’ उनले भने ।

कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् । ढुंगानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् ।

कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उनले जानकारी दिए ।

यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको ३५ रुपैयाँमा पकाउने गरेका छन् । नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुंगानाले बताए ।

खैरहनीका व्यवसायी सागर भट्टराईले चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नुपर्ने बाध्यता टरेको बताए । ‘केरा पकाउन पहिला क्याल्सियम कार्बोहाइट हाल्थ्यौँ,’ उनले भने, ‘अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिनमात्रै प्रयोग हुने गरेको छ ।’

पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने स्थिति रहेकोमा अहिले एक सातासम्म बिक्री गर्न सकिने उनले बताए ।

च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङसमेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टको अनुभव छ । ‘केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ, चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ,’ उनले भने ।

चितवनमा २२ हजार पाँच सय हेक्टरमा व्यावसायिक केरा खेती गरिँदै आएको छ । यहाँ वार्षिक ५६ हजार ४४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौँ, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्