• Menu

चोरले एक तोला सुन निलेपछि…

नेपाल प्रफिट

२०८१ वैशाख २४, सोमबार १०:०८

चोरले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए ।

परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो ।

एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको छ,’ सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको छ ।

जिल्ला अदालतले वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।

प्रतिक्रिया दिनुहोस्