काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक अर्ब रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्कासन गर्ने भएको छ । आइतबारदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि जेठ २२ सम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्कासन हुनेछ ।
वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा परिवारका सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।
‘यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ ।
बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत खरिद–बिक्री गर्न मिल्ने जनाइएको छ ।