• Menu

छिमेक र विश्वबजारसँग प्रतिस्पर्धा गरिरहेको निजी क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने सरकारको प्रतिबद्धता

नेपाल प्रफिट

२०८१ वैशाख २३, आइतबार १७:५२

छिमेक र विश्वबजारसँग प्रतिस्पर्धा गरिरहेको निजी क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने सरकारको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तर्क्रियामा आइतबार मन्त्री पुनले सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको दाबी गरे ।

लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत ८ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भएको उनको भनाइ छ ।

मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायीलाई आश्वस्त पारे ।

‘लगानी सम्मेलनमा उद्घाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं, स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानुनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ,’ उनले भने, ‘मुखले भनेर होइन, दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं ।’

प्रधानमन्त्रीले के गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ र सरकारलाई आउने राजस्व पनि वस्तुगत हुन्छ सोही अनुसार काम गर्न निर्देशन दिएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार आगामी बजेटमा सरकार आफैंले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई निर्देश गरिरहेको जानकारी मन्त्री पुनले दिए ।

‘सम्माननीय प्रधानमन्त्रीले निजी क्षेत्रको मनोबल उठाउनुपर्‍यो, निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्‍यो, लिबरल हुनुपर्‍यो भनिरहनुभएको छ,’ उनले भने, ‘त्यसलाई अर्थ मन्त्रालयको तर्फबाट सैद्धान्तिकरण गर्ने कोसिस जारी छ ।’

करका दर हेरफेर गर्दा हालसम्म राम्रो मन्त्री पुनले आफूले यसअघि नै सार्वजनिक मञ्चबाट करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता जनाएको स्मरण गरे ।

अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने प्रतिबद्धता जनाए । राम्रो नीतिको निरन्तरताका लागि मन्त्री र सचिवका पछि लागेर समय खेर नफाल्न उनले सुझाए ।

‘राम्रो नीतिको निरन्तरताका लागि अर्थमन्त्री, उद्योगमन्त्री र सचिवका पछि लागेर समय खेर फाल्नै पर्दैन, राम्रा कुराले निरन्तरता पाउँछ, यसमा कुनै सर्त छैन,’ उनले भने, ‘करका दर हेरफेर गर्दा यो कारणले बढायौं, यो कारणले घटायौं भन्छौं । यो हाम्रो सार्वजनिक प्रतिबद्धता हो ।’ छिमेक र विश्वबजारसँग प्रतिस्पर्धा गरिरहेको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेबारे सरकारले सोचेको उनको भनाइ छ ।

फरक प्रसंगमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रुपले सम्पन्न भएको उल्लेख गरे । लगानी सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानीमैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिंगो देश एकै ठाउँ रहेको सन्देश गएको उनले उल्लेख गरे ।

‘प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका नेताहरुले सकारात्मक कुरा गर्नु त छँदैछ तर प्रमुख प्रतिपक्षका नेता र विज्ञहरुले पनि एकै स्वरले देशमा लगानी आवश्यक छ, लगानीमैत्री वातावरण आवश्यक छ, सबै मिलेर वातावरण बनाउँछौं, यसमा सत्तापक्ष र प्रतिपक्षबीच नीतिगत मतभिन्नता छैन भन्ने अन्तर्राष्ट्रिय लगानीकर्ता र देशभित्रका लगानीकर्तालाई पनि संयुक्त रुपले अपिल गर्‍यौं, यो हाम्रो पुँजी हो र यसले सबै राजनीतिक दल आर्थिक नीतिमा एकै ठाउँमा छौं भन्ने देखियो,’ उनले भने ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी र प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्