काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ बैंक’ स्थापना गरिएको हो ।
प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ । संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ गर्नेछ ।
रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेजिङ’ गरी बैंकले आफ्ना ‘सो रुम’ राख्नेछ । आवश्यक पर्ने जोकोहीले ‘सो रुम’मा गएर कपडा र झोला निःशुल्क लिन सक्नेछन् ।
बैंकले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुवातसमेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैंक’ सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र महानायक राजेश हमालले आइतबार आयोजित कार्यक्रममा कपडा बैंकको आरम्भ गरे ।
कार्यक्रममा नगर प्रमुख गिरीले कपडा बैंकलाई आगामी दिनमा थप प्रवर्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैंकमा पैसामा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताए ।
अभिनेता हमालले कपडा बैंकका साथमा खाद्यान्न बैंक स्थापनाको तयारी गरिएको जानकारी दिँदै कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जीसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पुर्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।
उनका अनुसार बैंकले ‘रिसाइकल’का लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय तहसँग सहकार्य गरेको छ ।