• Menu

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित बृहत् र्‍याली

नेपाल प्रफिट

२०८० चैत २४, शनिबार २०:३३

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित बृहत् र्‍याली

ताप्लेजुङ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाजको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं जिल्लाबासीको सहभागिता रह्यो ।

‘बृहत नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानरसहितको र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको छ ।

र्‍यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिए ।

र्‍यालीपछि आयोजित कोणसभामा ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केबलकार निर्माणले ठूलो टेवा पुर्‍याउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

यसैगरी, युमा साम्यो अभियन्ता पदमचेञ्जी मावोले ताप्लेजुङको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केबलकार बन्नुपर्ने बताए । कार्यक्रममा सहभागी महिला अगुवा मीना गुरुङले केबलकार निर्माणप्रति भ्रम सिर्जना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।