• Menu

जुम्लामा ८४ हजार भेडा

नेपाल प्रफिट

२०८० चैत २३, शुक्रबार १६:२५

जुम्लामा ८४ हजार भेडा

जुम्ला । जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्यांकअनुसार जिल्लाभर अहिले ८४ हजार ३८८ भेडा छन् । बाख्राको संख्या ४६ हजार ३०६ रहेको कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । पाँच वर्षअघि भेडापालनको संख्या घटेकोमा अहिले बढ्दै गएको उनको भनाइ छ ।

‘भेडापालनमा प्रमुख समस्या भनेको विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि किसानलाई सास्ती भएसँगै संख्या घट्दै गएको थियो,’ प्रमुख बुढ्थापाले भने, ‘पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन् ।’

अहिले संघीय, प्रदेश र स्थानीय सरकार भएकाले विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडापालक किसान मर्कामा परेको उनले बताए ।

कार्यालय प्रमुख बुढ्थापाले यहाँ चरन क्षेत्रको कुनै समस्या नभएको र जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जानकारी दिए । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको उनको भनाइ छ ।

अहिले किसानसँग पशुपालनका नाममा तथा एक पालिबाट अर्को पालिकामा लैजाँदा कर उठाउने गरेकाले समस्या भएको भन्दै किसानको उक्त समस्या समाधान भए भेडापालन अझ फस्टाउँदै जाने कार्यालय प्रमुख बुढ्थापाले बताए ।

केही वर्षपहिला यहाँका स्थानीयले घरमा चामल र नुन ल्याउन सुर्खेतबाट जुम्लासम्म भेडाबाट ल्याउने गरेका तिला गाउँपालिका–१ का भेडा पालक किसान लालबहादुर रावतले बताए । ‘अहिले समय परिवर्तन भएको छ । उहिले एक महिना लगाएर तराईबाट भेडामार्फत खाद्यान्न सामग्रीको दुवानी हुन्थ्यो,’ उनले भने, ‘अहिले विकासका पूर्वाधार विस्तार भएसँगै ग्रामीण भेगसम्म सडक निर्माण भएका छन् । यातायातका साधन पुगेका छन् । यसले भेडाको माग बढ्नुका साथै ढुवानीमा सहज बनाएको छ ।’

अहिले भेडामार्फत खाद्यान्न तथा उपभाग्य सामग्री ढुवानी हुन छोडेको स्थानीय बताउँछन् । भेडाको ऊन राडी, पाखी, कोट, कपडा बुन्न प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्