काठमाडौं । सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । अर्थ मन्त्रालयका प्रतिनिधि र लघुवित्तविरोधी संघर्ष समितिबीच दिउँसो ३ बजेदेखि राति साढे ९ बजेसम्म चलेको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको हो । यद्यपि, वार्ता सकारात्मक भएको सरकारी टोलीले जनाएको छ ।
साढे ५ घण्टा भएको वार्तामा सरकारी पक्षले समस्या समाधानका लागि गरेका प्रयासबारे जानकारी गराएको छ । वार्ता शुक्रबार बिहान ११ बजे पुन: बस्ने गरी स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार आन्दोलनरत लघुवित्तविरोधी संघर्ष समितिलाई वार्तामा बोलाएको थियो । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्तपीडितका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो ।
बिहीबार सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिसँग वार्ता गरेको छ ।
समितिमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् ।
मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।