कास्की । गण्डकी प्रदेश सरकारको लगानीमा ६ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए ।
‘प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।
सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले बताए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको उनको भनाइ छ ।
प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँका अनुसार ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको छ । पुलका लागि चालु आर्थिक वर्षमा ३४ करोड १५ लाख विनियोजन गरिएको उनले बताए ।
‘पैँतीस बहुवर्षीय योजनाका पुलका लागि एक अर्ब ९४ करोड ४७ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ,’ उनले भने, ‘जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।’
उनका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच–पाँच, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई–दुई र मनाङमा एउटा पुल निर्माण भइरहेको छ । यस वर्ष बहुवर्षीयमा गएकासहित कुल ५३ पुल निर्माणाधीन रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशभित्र सडक, पक्की पुल र झोलुंगे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । ६ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुंगे पुल बनेको मन्त्रालयले जनाएको छ ।
हाल १० झोलुंगे पुल निर्माणाधीन रहेको र ५१ निर्माण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार सडकतर्फ १६२ आयोजनामा बहुवर्षीय आयोजनाका रुपमा काम भइरहेका छन् ।
प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कुल २७९.७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कुल ८९.३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाको १२२.५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा ६७४.०६ किमी पक्की र ५६६.८५ किमी कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।